- प्रेमप्रसाद पौडेल
पानी पर्ने मात्रा उति नै भई रहँदा पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुनु त कहिँ बाढी पहिरो त कहिँ खडेरी आदि हुनु पनि जलवायु परिवर्तनको समस्याको कारण हो । विभिन्न विद्धानहरूले आगामी ५० वर्षा हिमाल नरहने, हिमतालहरू सुक्ने वा फुट्ने कुराहरू गरिरहेका छन् । यसले हामी सबैलाई आर्श्चर्य पनि बनाएको छ ।
जलवायु परिवर्तनको समस्या हाम्रै व्यवहारका कारण सिर्जना हुन्छ भन्दा कतिले त पत्याउँदैनन् । तर हामीले विभिन्न फोहोर डडाउँदा, कलकारखाना वा सवारी साभन चलाउँदा हरित गृहमा प्रभाव पार्ने कार्वनर्डाई अक्साइड , नाइट्रस अक्साइड, सल्फर डाइअक्साइड, मिथेन, फ्लोर परफ्लोर कार्वन्स्, हाईड्राफ्लोर कार्वन तथा सल्फर हेक्जा कार्वन जस्ता ग्यासको मात्रा बढ्ने गर्दछ । यीनै ग्यासको मात्रा बढेपछि पृथ्वीमा जलवायु परिवर्तनको समस्या देखिने गर्दछ ।
जलवायु परिवर्तनको समस्या अनुकूलन गर्नको लागि वन जंगलको संरक्षण अत्यन्त महत्वपूर्ण रहने गर्दछ । वातावरणमा उपस्थित मानव घातक ग्याँसहरू रूखले खाने र रूखले फ्याँक्ने अक्सिजन मानव जीवनको लागि उपयुक्त हुने हुनाले जंगलको संरक्षण नै मानव जीवनको संरक्षण हो । त्यसैले मानव र जंगल एक अर्काका जीवन सहयोगी पात्रहरू हुन्, एक अर्काका पर्यायी हुन् यसमा कुनै शंका छैन ।
मानव जीवनको लागि जंगल यति महत्वपूर्ण हुँदाहुँदै पनि जानी नजानी हामी जंगलको विनासमा जुटिरहेका छौं । कहिले खाना पकाउने इन्धनको नाममा त कहिले घर ठड्याउने साधनको नाममा हामीले छानीछानी रूखहरू ढालिरहेका छौं । कहीँ घाँस पलाउन र काट्न सजिलो बनाउने बाहानामा त कहीँ वन्यजन्तु चोरी सिकारीको चाहनाले जंगलमा आगो सल्काएर ध्वस्त पार्ने कार्यमा पनि मानव समाज नै लागिरहेको छ । हिउँदको समयमा यस्ता क्रियाकलापले धेरै वनको क्षति भइरहेको छ । वनको क्षति एकातिर छ भने अर्कातिर वातावरण प्रदुषित भई जलवायु परिवर्तनको समस्यामा जगत रूमल्लिरहेको छ ।
रसुवा जिल्ला वन जंगल धेरै भएको जिल्ला हो । यहाँ वर्षोनी प्राय जंगलमा आगो लाग्ने गरेको छ । गत सातामात्र रिभरकुण्ड महोत्सव आयोजना हुँदै गरेको क्षेत्र बृद्धिम र त्यसको नजिक टिमुरेमा निकै विनासकारी रूपमा आगो फैलेको हाम्रा नजरमा पर्यो । एकातिर पर्यटन महोत्सवको चटारो अर्कातिर जंगलमा आगो लाग्दा निस्केको प्रदुषणले वरिपरिका बस्तीहरूमा श्वास फर्ेन समेत् मुस्किल परिरहेको थियो । त्यहाँका जनतामा श्वासप्रशवास सम्बन्धी रोगको चाप बढिरहेको थियो ।
मानव जीवन सरल र सहज तरिकाबाट बिताउन हाम्रा वरपरका वातावरण सहयात्री हुन् । जंगल र पानी विना हाम्रो जीवनको कल्पना गर्न सकिदैन । जंगल रहेमात्र पानी रहने र पानी रहेमात्र हामी रहने कुरामा सबैले चासो दिनु आवश्यक छ । रसुवाका जंगलमा आगो लाग्दा निभाउन सकिने सम्भावना ज्यादै न्यून रहेको छ । सबैतिर भीर, आगो फैलदै जाँदा वर्षोनी धेरै सम्पदाको विनास हुने गरेको छ । घाँसपातको सहजताको लागि होस् वा सिकार गर्ने चाहना स्वरूप, जंगलमा आगो लगाउँदा तत्कालीन केही लाभ पाइएला तर मानव जीवन र भू मण्डलको भविष्यका लागि यो खतरायुक्त छ । त्यसैको जंगलको संरक्षणका लागि सबैजना एकजुट हुनै पर्दछ, किनकि तपाइँ हाम्रो सुन्दर र उज्ज्वल भविष्यका लागि, केवल त्यसैका लागि । अन्तमा चेतनामूलक कविताको यो अंश
छैनन् रूख भने रहन्न जगतै बाँच्दैन भन्ने पिर
फैलेका कण धेर, दूषित हुँदै फर्किन्छ मान्छे तिर ।
मान्छेले लिनु पर्छ चीज जुन हो भन्ने त अक्सीजन
रोपौं रूख दिनेछ आज सहजै राखौं यही चेतना ।।
No comments:
Post a Comment