Home » » कसरी हुन्छ र ! रसुवाको पत्रकारिता व्यवसायिक ?

कसरी हुन्छ र ! रसुवाको पत्रकारिता व्यवसायिक ?

Written By Beware Of Climate Change Issue on Sunday, November 20, 2011 | 11:56 PM



- प्रेमप्रसाद पौडेल
रसुवा खबर
राजधानीसँग जोडिएको जिल्ला नुवाकोट र विश्वकै विकसित मानिएको देश चीनसँग एकआपसमा छिमेकी भएर रहेको जिल्ला रसुवा विविधि दृष्टिकोणले पछाडि धकेलिएको छ । विविध विकासका सम्भावनाहरूलाई अँगालाभरी बोकेर विकासको दौडमा सहभागी भएजस्तो देखिए पनि धेरै विषयहरूमा रसुवा चौहत्तरौं जिल्ला पछि आउने गरेको छ । नेपालको मानचित्रमा राजधानीको आधुनिक शहरको पोल्टामै रहेर पनि बिलाएको/हराएको वा नेपालको पचहत्तरौं स्थानमा देखिएको ज्वलन्त एक उदाहरण हो - पत्रकारिता ।
नेपालकै सन्दर्भमा पत्रकारिता त्यति व्यवसायिक हुन सकेको छैन, पचहत्तरौं ट्याग बोकेर जिएको रसुवाको पत्रकारितामा त झनै व्यवसायिक हुने लक्षणसम्म पनि देखा पर्न सकेको छैन । यहाँको पत्रकारिता ओझेलमा पर्नु पछाडि विविध कारणहरू छन् । पत्रकारिता पेशागत रूपमा गर्न सकिने सम्भावना रहँदारहँदै पनि यहाँको पत्रकारितामा विखलन वा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ पछिल्लो समयमा । थोरै पत्रकार हुनु त्यसमा पनि विविध पेशामा आवद्ध रहेर पत्रकारिता पेशालाई मुख्य पेशा बनाउन नसकेको कारण पनि यहाँ व्यवसायिक पत्रकारिताको सम्भावना देखिएको छैन भन्न बाध्य भएका छौं हामी ।  अन्य पेशा नगरी पत्रकारिता मात्र गरेर जीवन गुजारा हुन नसकेको कारण पनि यहाँ पत्रकारिता मुख्य नभई सहायक पेशा बनिरहेको छ ।
पहिलो कुरा त रसुवाका अधिकाँश पत्रकारहरूमा सैद्धान्तिक ज्ञानको अभाव छ । अलिअलि सैद्धान्तिक ज्ञान भएका र सैद्धान्तिक ज्ञानसँग व्यतिरेकी सम्बन्ध गाँस्न चाहने पत्रकार बीचको विषमताले पनि पत्रकारिता सङ्लो र व्यवसायिक हुन नसकेको हो । पत्रकारिता आचारसँहिता वा आधारभूत कुराहरू पनि पत्रकारहरूमा ज्ञान नभएको कारण पत्रकारितामा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ । राजनीतिक विभाजनका कारण पनि एकले अर्कोलाई हिलो छ्याप्ने, गाली, गलौज वा पत्रकार र मिडियाको नाममा तथानाम लेखोट छापिने गरेकोले अनुमान गर्न सकिन्छ कि यहाँ पत्रकार आचारसँहिताको कुनै पनि ख्याल गरिएको छैन । पत्रकार महासंघ होस्, गैरसरकारी संस्था महासंघ वा स्थानीय र जिल्लास्तरका विभिन्न समुदायस्तरका संस्थाहरू सरकारी कर्मचारी विशेष गरी शिक्षकहरूको बपौती बनेको कारण त्यस्ता निकाय वा पेशामा व्यवसायिकपन नदेखिएको हो । यसरी हेर्दा शिक्षकहरू आफ्नो जिम्मेवारीमा नलागी पत्रकारितामा लाग्नु आचारसँहिता विपरित छ । विविध युनिटमा यहाँसम्म कि विद्यालय व्यवस्थापन समितिमासमेत्  शिक्षकहरूकै हावी हुनु अर्को शैक्षिक चुनौति हो । यसरी व्यवस्थापन समितिमा शिक्षकहरू रहनुले बालबालिकालाई 'कपुरी क, खरायो ख' को सट्टा एक विद्यालयको व्यवस्थापन वा सञ्चालनको निहुमा एक विद्यालयको पठनपाठन अवरुद्ध हुन पुगेको छ । यो पनि आचारसँहिता विपरित छ छैन, त्यो जिल्ला शिक्षा कार्यालयले पनि खुट्याउनु पर्दछ ।
कुनै पनि उद्योग ,व्यवसाय  वा पेशा सफल हुनको लागि तीनवटा विषयहरू अगाडि आउने गर्छन्, 'नाफा, संतुष्टी र निरन्तरता ।' यी तीनै विषयवस्तु वा सूचकको कुनै पनि सम्भावना देखिएको छैन रसुवाको पत्रकारितामा । न यहाँका पत्रकारहरूले समाचारका सामग्रीहरू आफू आवद्ध मिडियासम्म पुर्याएर आम्दानी लिने गरेका छन्, न अलिअलि प्रकाशित वा प्रसारित सामग्रीले पाठकलाई संतुष्टी दिएको छ । विभिन्न सरकारी पेशामा आवद्ध कर्मचारीहरूले आफूले पाएको जिम्मेवारी त पुरा गर्दैनन् भने पत्रकारितालाई त झनै निरन्तरता दिन नसक्ने अवस्था छ  यहाँ ।
पत्रकार महासंघको नेतृत्व पनि गैरपत्रकार वा शिक्षकले गरिरहेका छन् । यहाँको पत्रकारिता व्यवसायिककरणमा यो पनि एउटा चुनौति हो । यसरी भन्दा उहाँलाई पत्रकारिता नगर्नुस् भनिएको हैन, बरु पत्रकारको नेतृत्व गर्ने व्यक्तिले अन्य पेशा छोड्नुस् वा व्यवसायिक पत्रकारिताको उत्पादनतिर लाग्नुस् भनिएको हो । अन्यथा देखेको कुरा लेख्नुपर्ने पत्रकारले आचारसँहिता विरुद्ध आफैंले कार्य गरिरहँदा भोलि कसैका पनि समाचार लेख्ने दायिàव तपाइँमा नरहन सक्छ । भष्ट्रचार वा समाजमा रहेको विकृतिको भण्डाफोर गर्ने पत्रकार नै भष्ट्रचारको एक पाटोमा सहभागी भइरहँदा त्यसले कुन विकृति विरुद्ध आवाज उठाउला र ?
पत्रकार महासंघले समग्र पत्रकारहरूमा मर्यादित पेशाका निमित्त मार्गनिर्देशक बनेर जिम्मेवारी सम्हाल्नु पर्नेमा यहाँ ठीक उल्टो भएको छ । पत्रकारको नेतृत्वतहमा रहेकाले आफ्नो मिडियामार्फत् अन्य मिडिया र पत्रकारहरूको चरित्र हत्या गर्ने गरी आफ्नो पत्रिकाको पृष्ठ भर्ने नियति देखिएको छ । पछिल्लो समयको अवस्थालाई हेर्दा यहाँको पत्रकारिता व्यवसायिक नहुनुमा यो नै प्रमुख कारकतत्वको रूपमा रहेको छ ।  यी विविध समस्याहरूका बाबजुद बिचरो/बबुरो बनेको रसुवाको पत्रकारिता कसरी व्यवसायिक बन्ला र ? 
Share this article :

No comments:

Post a Comment